लुम्बिनी, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार प्रदेशसभा भवन देउखुरीमा आज सोमबार दिउँसो १२ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।


लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो । प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सभापछि प्रधानमन्त्रीले तुल्सीपुरस्थित एक होटलकोसमेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।