काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय समाचार समिति अब सरकारको पेटबोलीमा मात्र सीमित छैन । रासस जनताको घरदैलोको सिर्जना, उद्यम, सफलता, सम्भावना र सपनाको पनि प्रमुख ‘बुलेटिन’ बनिरहेको छ । यसैले उसले दिने समाचारले दूरदराजका विषयवस्तुलाई पनि क्षणभरमै संसारभर प्रसार गरिदिन्छ ।
सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनले भन्दा अगाडि अहिले स्थानीय सञ्चारमाध्यम अझ ‘अनलाइन न्युजपोर्टल’ले जनताका विषयवस्तुमा लेखेका कैयौँ समाचारको अग्रभाग या पुछारमा एउटा शब्द झुन्डिन्छ, त्यो हो ‘रासस ।’ अर्थात् सामग्रीमा सत्यता, यथार्थता र प्रमाणीकरणसहितको राज्यको दृष्टिमा समाचार बन्ने आमनागरिकका मुखरित हुन नसकेका विषय व्यापारिक स्वार्थ राखेर समाचार नबनाउने र ‘कर्पोरेट’को वकालत गर्नेहरुबाट बहिष्करणमा परेका विषय पनि राससका समाचार हुने गरेका छन् । यसैले पछिल्लो समय कर्पोरेट सञ्चारगृहका पानाहरुमा पनि जनताको समाचार देखिन थालेका छन् र त्यसमा दुई तिहाइको हिस्सा लगभग राससले ओगट्न थालेको छ । यो नै पछिल्लो समय सरकारी सञ्चारमाध्यम राससको ठूलो सफलता हो ।
सरकारका मात्र कुरा गर्ने, मन्त्री, नेता, सत्ता पक्षको औपचारिक सम्बोधनलाई प्रमुख समाचार बनाउने पुरातन शैलीको समाचार उद्योगबाट राससले आफूलाई सर्लक्कै व्यावसायिक घरानाको परिष्कृत समाचार गृह बनाउने जमर्कोमा सफलता पाइरहेको छ । यसका अलावा राज्यका निकायको आधिकारिक सन्देश सञ्चारकर्ममा पनि रासस नै एकमात्र विकल्प हो । राष्ट्रिय पर्व, स्थानीय परम्परा, सम्पदा र सभ्यता अनि संस्कारसँगै उन्नति–प्रगतिका विषयमा रासस निःस्वार्थ समाचार लेखिरहेको छ ।
किसानका बारीमा १६ किलोको काउली फलेका विषय अचेल कृषि पत्रकारितामा पनि नदेखिने समाचार भइरहँदा राससले जनताका अप्रकाशित यस्ता कैयौँ विषयमा मारेको फड्कोले समाचार गृह चाहिँ पत्रकारविहीन बन्दैछन् । किनभने राससको बुलेटिनमा दैनिक लेख आउन थालेको छ । स्थानीय लेखक, पत्रकार, नेता, नागरिक समाजका सदस्य अचेल लेख्न छाडे, यसैले राससकै केही बढी शब्द भएका आलेख र समाचारलाई लेख बनाएर या कुनै अनलाइनका लेख तानेर पाना भरिरहँदा राससले राज्य तहबाट मुखरित हुनुपर्ने विषयमा सान्दर्भिक लेख प्रसार गर्न थालेपछि लेखकहरु राससप्रति आकर्षित भएर लेख्न थालेका छन्भने स्थानीय अखबारहरुको ‘लेखकीय अनिकाल’मा रासस रामबाण बनेर उभिएको छ । यसैले अहिले स्थानीय सञ्चारगृहमा राष्ट्रियस्तरका लेखक उदाएका छन् । यसले गरेको महत्वपूर्ण काम हो, कुनै अनलाइनका रुचि र स्वार्थमा लेख्न लगाइएका लुकेका अदृश्य सन्देश प्रसार अब मोफसल या स्थानीय सञ्चारगृहमा छापिन रोकिएको छ ।
पछिल्लो समय पत्रकारितामा सम्भावना कम देखेर पत्रकार पलायन भइरहेका छन् । सबैले यसै भन्ने गरेका छन् । र, पत्रकारले कम लेख्न थालेपछि पत्रकारितामाथि सामाजिक सञ्जाल हाबी भइरहेको छ । नागरिक पत्रकारिताका नाममा वैयक्तिक विषयवस्तुमा प्रहार गर्ने र त्यसबाट ‘डिजिटल प्लेटफार्म’मा ‘भ्युज’ र रकम कमाउने विषयवस्तु पनि पत्रकारितामा जोडिन थालेको छ । जस्तोः झापाको एउटा ज्येष्ठ नागरिक र युवतीको सम्बन्धका विषयलाई बाहिर ल्याएर ठूलो विषयवस्तु बाहिर ल्याउन सफल भए झैँ देखाउन खोजिएको छ । त्यसलाई पत्रकारिता मान्ने र नागरिक अचेल भिडियोमा गए, पत्रिका, अनलाइन पढ्न, रेडियो सुन्न अनि टेलिभिजन हेर्न छाडे भन्ने भाष्य निर्माण भइरहेको छ । स्थानीय वडा प्रहरी कार्यालयको मुद्दा शाखाको सामान्य वारदात हो त्यो घटना । उनीहरुको सम्बन्ध थियो–थिएन, बच्चा कसको हो, अनुसन्धानका विषय हुन् ।
कुनै पनि आरोप लागेका व्यक्तिको यसरी अझ ज्येष्ठ नागरिकलाई हुर्मत लिने संस्कार र प्रवृत्ति समाजमा हुर्किरहेको छ । यसलाई बेलैमा पत्रकारिताले बोल्ने र राज्यलाई यस्ता घटनाक्रमलाई अनुसन्धान गरेर हिरासत या पुर्पक्षको विषय बनाउन भनेर हामी पत्रकारले नभन्नाले, नलेख्नाले, नदेखाउनाले आज हाम्रो पत्रकारिताको हुर्मत लिइएको छ । असामाजिक र असहिष्णु बनिरहेको समाजमा यस्ता सामग्रीले एकातिर पत्रकारिता मारिरहेको छ, अर्कातिर राज्यप्रणाली, व्यवस्था र व्यक्तिका गोपनीयता कायम गरिनुपर्ने विषयलाई पनि बाहिर ल्याएर समस्या बनाइँदैछ । यस्तो अवस्थामा हामीले यो विषयलाई कसरी पस्कने, किन पस्कने र यसले नेपाली जनताको रोजिरोटी, दैनिकी, सभ्यता, संस्कार र आपराधिक मनोवृत्ति नियन्त्रणमा कसरी उचित सन्देश दिन सक्छौँ भनेर पत्रकारिता नबोल्दा यस्ता कैयौँ घटना वश इन्टरनेट साक्षर दुनियाँका लागि समय बिताउने सामग्रीमा सीमित छ ।
सरकारी सञ्चारमाध्यम राससले चाहिँ स्थानीय सञ्चारगृहमा अभाव भइरहेको समाचारको खाडल भर्न दिइरहेको सामग्रीले यस्ता विकृत सामग्रीबाट स्थानीय मिडिया बचाइरहेको छभन्दा फरक पर्दैन । जुन कर्मले स्थानीय पत्रकार पलायन भए पनि सञ्चारगृह समाचार सामग्री अभाव खेप्न विवश छैन ।
पछिल्लो समय राससका समाचार राष्ट्रिय मिडिया अझ आफूलाई मूलधारका अनलाइन भन्नेहरुलाई ‘मसला’ नै भइरहेका छन् । उनीहरुले प्रसार गरेको विषयलाई काटकुट पारेर देशभरका रेडियोहरुले प्रमुख समाचार बनाइरहेका छन् । उसो त रासस लिने रेडियोहरु पनि बढिरहेका छन् । आफ्ना भूगोलका समाचारलाई प्राथमिकताका साथ बजाउने, प्रकाशन गर्ने र देखाउने काममा अचेल पढिएका, सुनिएका र हेरिएका समाचारमा रासस नै हाबी भइरहेको छ । राससमा स्थानीय समाचारदाताहरु औपचारिक कार्यक्रमबाट गैरहाजिरी भएर अप्रकाशित र अनौपचारिक जीवनशैली समेट्ने समाचार उत्पादन, खोजी र प्रसारमा सक्रिय भएका छन् । अहिले एक हजार शब्द लेख्ने पत्रकार समाजमा अभाव भइरहँदा राससका समाचारदाताहरुको लोभलाग्दो मेहनत देखिन्छ । यति मात्रै होइन, राससले जिल्लामा राखेका कैयौँ पत्रकारहरु अरू जिल्लाबाट गएर त्यहाँ समाचार खोजेर आफूलाई समाजमा स्थापित गर्न कामयाव देखिएका छन् ।
सरकारी ‘जागिरे जीवन’सँग जोडिने निष्क्रियता र आलस्यपनबाट मुक्त भएर समाचारदाताहरु समाचार खोज्न थालेपछि कैयौँ जिल्लाका समाचारका विषयवस्तु राष्ट्रियस्तरका सञ्चारगृहका स्थानीय प्रतिनिधिले पनि नलेखेका आउन थालेपछि स्थानीय रेडियो, पत्रिका र टेलिभिजनमा यस्ता सामग्री प्राथमिकतामा परिरहँदा जनतामा पनि राससप्रति भरोसा बढेको छ । राससलाई समाचार दिइयो भनेर धेरैतिर समाचार आउँदोरहेछ भन्ने समाजको मनोदशा बनेको छ । यो सकारात्मक पाटोलाई सक्रिय बनाउन राससले आफ्ना स्थानीय समाचारदातालाई अरू क्रियाशील बनाइरहन जरुरी देखिन्छ ।
पत्रकारको अभावमा समाचारको खडेरी परिरहँदा पछिल्लो समय राससले दिन सुरु गरेको श्रव्य र दृश्य सामग्रीले पनि समाचार गृहलाई ठूलो राहत भएको छ । खोजीका समाचार, आलेख चौबिसै घण्टा प्रसार भइरहँदा रासस लिएर मात्रै पनि अनलाइन सञ्चारमाध्यमहरु सञ्चालनको वातावरण बनेको छ । समाचारदातालाई पारिश्रमिक दिन नसक्ने, लेखिएका समाचारलाई छरितोसँग काँटछाँट गर्न सम्पादक अभाव भइरहँदा राससले यसको अभाव टारिदिएको छ । भाषाशैली, सम्पादन, छरितो काँटछाँटसँगै समाचार आउनेबित्तिकै प्रसार हुने भएकाले स्थानीयस्तरका रेडियो, अनलाइन प्रभावकारी भएका छन् ।
उनीहरुले समाचारदाता र समाचार सम्पादकलाई पारिश्रमिक दिन नसकेर पत्रकार नियुक्त गर्न नसकिरहँदा न्यून मूल्यमा राससले समाचार प्रवाह गरिरहेको छ र राज्यको तर्फबाट एक मात्र यस्तो प्रयास भइरहेको छ कि समाचारमूलक सञ्चारगृह अब पत्रकाररहित भए पनि सञ्चालनमा समस्या छैन, समाचार अभाव खेप्नुपर्ने छैन । राससका समाचार प्रसार गरेर पनि स्थानीय सञ्चारगृह बाँच्न सक्छन्, विज्ञापनको बजार बनाउन सक्छन् र बन्द हुनु पर्दैन भन्ने सन्देश जानु सकारात्मक पाटो हो । जुन समाचारले छापा माध्यमले खेपिरहेको ‘हुबहु’ आरोपबाट पनि मुक्त भएको छ । राज्यले दिने सेवासुविधामा सधैँ झन्झटिलो देखिने ‘हुबहु’ लगभग राससले विस्थापित गरेको छ । थोरै जनशक्तिबाट सञ्चारगृह चलाउन सकिन्छ भन्ने आशा सञ्चारगृहका सञ्चालका पलाएको देखिन्छ ।
पछिल्लो समय राससले विभिन्न भाषाभाषीका समाचार पनि आरम्भ गरेर भाषा संरक्षणमा अर्को प्रयास गरेको छ । यसले नेपाली भाषाको एकलौटीलाई पनि विस्थापित गरेको छ । स्थानीय मातृभाषामा पनि समाचार सेवा सुरु हुँदा जनतामा घटिरहेको अखबार पढ्नेक्रम, रेडियो या टेलिभिजन हेर्ने र सुन्ने क्रमलाई बढाउन नसके पनि घट्न दिएको छैन । बिस्तारै यो क्रम बढ्ने नै छ । किनभने हरेकलाई आफ्नो भाषाको मोह छ । आफ्ना समाचार आफ्नै भाषामा आउँदा पक्कै पनि उनीहरुलाई मातृभाषाको मोहले तानिरहेको छ ।
राससले मैथिली भाषामा समाचार दिन थालेपछि हामीले केही दिन यसलाई एक पेज दिएर परीक्षण गरेर हेरेका थियौँ । यसको सन्देश सकारात्मक आयो । बरु पाठकहरुले भन्न थाले, ‘राष्ट्रिय समाचारलाई अनुवादबाट मुक्त गरेर मैथिली भाषामै ‘सुकुमार सामग्री’ पढ्न पाए कति आनन्द आउँथ्यो १’ यसको सन्देश हो, अब मातृभाषामा समाचार लेख्ने काम पनि जरुरी हुँदैछ, अनुवाद गरेर मात्रै मातृभाषाका समाचारले पाठक, श्रोता, दर्शक सन्तुष्ट छैनन् । यो काममा बृहत् सम्पादन कक्ष, समाचारदाताको गृह र समाचार सम्पादकहरु भएको राष्ट्रियस्तरको सरकारी सञ्चारमाध्यम रासस नै अघि बढ्नुपर्ने देखिन्छ ।
राससले पछिल्लो समय स्थानीय सञ्चारमाध्यमलाई न्यून मूल्यमा यथेष्ट सामग्रीको छापा, श्रव्य, दृश्य सामग्री उपलब्ध गराइदिएपछि सञ्चारकर्मीविहीन सञ्चारगृहले प्राणवायुकै महसुस गरेका छन् । यो क्रम निरन्तर र अरू अग्रगामी सुधारसहित अघि बढाउन सके रासस अब सेवामूलकबाट बिस्तारै राज्यको आधिकारिक भनाइ प्रवाह गर्ने सरकारी सञ्चारमाध्यमका अलावा व्यावसायिक हिसाबले पनि आत्मनिर्भर बन्न सक्ने अवस्था बन्दै जानेछ ।
यसका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग राससले हातेमालोको अभ्यास पनि गरिरहेको देखिएको छ । यो अभ्यासले सार्थकता र निरन्तरता पाए स्थानीय तहबाट पनि सञ्चालित हुने ससाना सञ्चारगृह समाचार र पत्रकारको अभावबाट मुक्त हुनेमा त शङ्का छैन, ठूला र व्यावसायिक सञ्चारगृहलाई पनि यसले चुनौती थपेको छ कि राज्य तहले दिने सूचनाभन्दा कमसल सामग्री उत्पादनले अब व्यावसायिक घरानाका सञ्चारगृहहरु जनताको रोजाइबाट छाया पर्दै जानेछन् । अर्कातिर स्थानीयस्तरमा स्वार्थवश लेखिने समाचार र त्यो पढ्नैपर्ने, हेर्नैपर्ने र सुन्नैपर्ने बाध्यताबाट पनि पाठक, दर्शक र स्रोत मुक्त भएका छन् । यस्ता स्वार्थका समाचार सामग्री पनि राससले विस्थापित गर्दै गएको छ । (एलन, मधेस प्रदेशको राजधानी जनकपुरबाट प्रकाशित हुने मधेशदृष्टि दैनिकका सम्पादक हुन्)