पर्सा, फागुन २ गते । गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडु सम्मानित हुनुभएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले एक कार्यक्रमबीच पदक वितरण गर्नुभएको हो ।
संविधानसभाका सदस्य रुगँटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गर्नुभयो । “पत्रकारितालाई अझै जनताप्रति निष्ठावान हुँदै राष्ट्र र जनताको हित हुनेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतले पत्रकारिताको मूल्यमान्यता र धर्मलाई कायम राख्दै पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो ।