कञ्चनपुर, माघ ३० गते । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जनचेतना जगाउने कार्य अगाडि बढाएको छ । जिल्लाका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा स्वास्थ्य कार्यालयले पैरवी कार्यक्रम सञ्चालन गरेको छ ।

तीन वटै स्थानिय तहका वडामा पुगेर भद्रभलादमी, भलमन्सा, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीलाई सहभागी गराइ सिकलसेल एनिमिया र थालेसिमिया रोगबारे जानकारी गराउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताउनुभयो । सिकलसेल रोगको पहिचान गर्नका लागि तीन वटै पालिकाका छ हजार जनाको शिविर सञ्चालन गरी रगत परीक्षण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

त्यसमध्ये शुक्लाफाँटामा मात्रै एक हजार पाँच जनाको रगत परीक्षणको कार्य गरिने छ । उहाँँका अनुसार कञ्चनपुरमा मात्रै १८ देखि २० हजार जनामा अर्धदोषयुक्त जिन रहेको अनुमान रहेको छ । त्यसमा तीन सय ५० को हाराहारीमा सिकलसेलका बिरामी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । “सिकलसेल एनिमिया थारु समुदायमा बढी देखिए पनि अन्य समुदायका व्यक्तिहरुमा पनि देखिन थालेको छ”, उहाँले भन्नुभयो, “चुनौतीका रुपमा यो रोग आउन थालेकाले समुदायमै पुगेर सचेत पार्ने कार्यमा लागेका छौँ ।”

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पतासम्बन्धी रोगलाई सिकलसेल रोग भन्ने गरिएको उहाँले जानकारी दिनुभयो । त्यसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमी हुनेसँगै शरीरका विभिन्न भित्री अङ्गहरुमा नोक्सानी पुग्दछ । सिकलसेल रोगका बिरामीहरुमा फरक–फरक किसिमका लक्षण देखापर्ने भएकाले चिकित्सकलाई समयमै बिरामीको रोग पहिचान गर्न कठिनाइ पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

मानव शरीरमा रहेको तीन अर्बभन्दा बढी डिएनएमध्ये एउटा डिएनएको संरचनामा परिवर्तन हुँदा सिकलसेल देखा पर्दछ । सिकलसेल एनिमियाको अर्धदोषयुक्त जिनलाई हेटेरोजाइगोस ट्रेट भन्ने गरिन्छ । “यस्ता अर्धदोषयुक्त ट्रेट बोकेका व्यक्तिहरुमा सिकलसेल रोगका लक्षणहरु देखा पर्दैनन”, भट्टले भन्नुभयो, “यस्ता व्यक्तिहरुको साधारण व्यक्तिभन्दा १० गुणा बढी मलेरियासँग लडन सक्ने क्षमता राख्द छ ।”

उहाँका अनुसार सिकलसेल एनिमिया रोग एक प्रकारको वंशाणुगत रोग भएकाले बुबाआमाबाट बालबालिकामा सर्ने गर्दछ । यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ । त्यसले गर्दा रातो रक्तकोष गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्तकोष हुने भएकाले रगत सजिलोसँग बग्न सक्दैन । 

“यो रोग एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै जाने भएकाले यदि दम्पती दुवै जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट छ भने त्यस्ता दम्पतीबाट जन्मने चार सन्तानमध्ये एक जनामा सिकलसेल हुन्छ”, अधिकृत भट्टले भन्नुभयो, “सिकलसेल दोषयुक्त जीन भएका दम्पतीले सन्तान जन्माउन चाहेमा जेनेटिक परामर्शदातासँग अनिवार्य सन्तान जन्माउन मिल्ने वा नमिल्ने र सिकलसेल भएको सन्तान जन्मिहाले कसरी उपचार पद्धति अपनाउने भन्नेबारे परामर्श लिन जरुरी हुन्छ ।”

सिकलसेल भएमा छिटो–छिटो थकाई लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा तथा ढाडमा अचानक र कडा खालको दुखाइ हुने लक्षण देखा पर्नेसँगै कमलपित्त हुने, आँखाका समस्या देखापर्ने, संक्रमण भइरहने, ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्नेलगायतका लक्षण पनि देखा पर्ने अधिकृत भट्ट बताउनुहुन्छ । रगत बग्न नसक्दा शरीरका भित्री अङ्गमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरुमा खराबी भई ती अङ्गहरुमा कडा खालको दुखाइ हुने गरेको उहाँले उल्लेख गर्नुभयो । 

सामान्यतया राता रक्तकोषहरुको आयु एक सय २० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषको आयु १० देखि २० दिनसम्मको हुने भएकाले बिरामीलाई रक्तअल्पता हुन्छ । यस रोगको मुख्य उपचार भनेको नै तालिमप्राप्त स्वास्थ्यकर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गराउनु रहेको स्वास्थ्य कार्यालयका अर्का जनस्वास्थ्य अधिकृत गणेश भण्डारीले बताउनुभयो । 

यस रोगका बिरामीहरुले जीवनभर औषधि सेवन गर्नुपर्ने तथा रगत चढाउनुपर्ने उल्लेख गर्दै उहाँले सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोराछोरी जन्माउनका लागि बिहेवारी गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया भएअनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ । विश्वमा करिब पाँच प्रतिशत मानिसमा हेमोग्लोविनको समस्या रहेका वाहक रहेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

त्यसमा सिकलसेल र थालेसिमिया पर्दछन् । तीन लाखभन्दा बढी नयाँ जन्मने बच्चाहरुमा हेमोग्लोविनको समस्या भएको बताइन्छ । सिकलसेलका बिरामीलाई स्वस्थ राख्नका लागि दैनिक फोलिक एसिडको प्रयो गर्नुपर्ने स्वास्थ्यर्मी बताउँछन् । बिरामीले प्रशस्त मात्रामा दिनको १० देखि १५ गिलास पानी पिउनुपर्दछ । बढी गर्मी र जाडोबाट बच्नुका साथै कडा परिश्रम र तनावबाट बच्नुपर्दछ । सिकलसेल जीन वाहक युवायुवती बिरामीले विवाह गर्नुअघि डिएनए परीक्षण गरी सिकलसेल भए नभएको यकिन गर्नु उत्तम हुने स्वास्थ्यकर्मी परमानन्द भट्ट बताउनुहुन्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको छ ।