मोरङ, माघ २९ गते । मोरङको बेलबारीमा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । बेलबारी–१ स्थित तमू बुद्धिष्ट गुम्बामा आगामी फागुन १६ देखि २० गतेसम्म हुने प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाबाट सहभागी आउने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ललितकलाका सबै विधा समेटिने प्रदर्शनीका संयोजक सञ्जय वान्तवाले बताउनुभयो । उहाँले प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गर्न ६१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

समसामयिक चित्रकला, परम्परागत चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली लोककला समावेश हुने उल्लेख गरिएको छ । साथै थारू लोककला, सन्थाल लोककला, राजवंशी लोककला, खवास लोककला, मौलिक रैथाने लोककला तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको पनि प्रदर्शनी गरिने बताइएको छ ।

यस्तै, १२ जनाको विज्ञ टोलीले प्रदर्शित कलाको व्यक्तिगत रुपमा मूल्याङकन गरेर दिएको नम्बर जोडेर आएको योगफलको आधारमा पुरस्कृत हुने कला छनोट गरिने बताइएको छ । पुरस्कृत हुने हरेक विधाका उत्कृष्ट कलाकारले रु २५ हजारका साथमा प्रमाणपत्र पाउनेछन् । प्रदर्शनीभरबाट उत्कृष्ट हुने एक जनाले रु ३० हजार र प्रमाणपत्र पाउने उल्लेख गरिएको छ ।

प्रदर्शनीबाट छानिएका कलाकृतिले राष्ट्रिय प्रदर्शनीमा सहभागी हुने मौका पाउने बताइएको छ । पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारसहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोककला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन सांस्कृतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोहका कार्यक्रम हुने आयोजकले जनाएको छ ।