मोरङ, माघ २७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानवीय संशाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले विद्यार्थीहरूको सूचना प्रविधि अविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्नसक्ने रोबोटलगायत आविष्कारको अवलोकन गर्नुभएको थियो ।