लिमा, माघ २७ गते । पेरु प्रहरीले भेनेजुएलाको शक्तिशाली गिरोहद्वारा यौन शोषणमा परेका १२३ महिला र बालिकालाई उद्धार गरेको शनिबार घोषणा गरेको छ । पेरुको राजधानी लिमामा शुक्रबार राति गरिएको छापामा सयौँ प्रहरी अधिकारीको सहभागिता थियो । छापामा २३ जना कथित गिरोहका सदस्य पक्राउ परेका थिए ।
तीन जना नाबालिकासहित १२३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतले सबै महिला र बालिकाहरू रहेको जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिहरू भेनेजुएलाको सबैभन्दा ठूलो गिरोह ट्रेन डे अरागुआको गुट लस हिजोस डे डिओसको हिस्सा हुन् । यो सन् २०२१ देखि पेरुमा सक्रिय छ ।
सन् २०२४ जनवरीमा पेरु प्रहरीले यही आपराधिक सङ्गठनद्वारा सामाजिक सञ्जालमा यौन शोषणमा परेका ४० जना युवतीलाई उद्धार गरेको थियो ।
ट्रेन डे अरागुआ गिरोह सन् २०१४ मा भेनेजुएलाको अरागुआ राज्यमा स्थापना भएको तर अहिले कोलम्बिया, पेरु र चिली लगायत धेरै दक्षिण अमेरिकी देशहरूमा उपस्थित छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष चुनाव प्रचारका क्रममा कागजातविहीन आप्रवासीहरूलाई लक्षित गर्दै व्यापक निर्वासनको वाचा गर्नुभएको थियो । यसलाई उहाँले उनले हिंसात्मक अपराधमा संलग्न भएको आरोप लगाउँदै बारम्बार ‘जनावर’ र ‘राक्षस’ को संज्ञा दिनुभएको थियो ।
उहाँले ट्रेन डे अरागुआलाई विशेष रूपमा लक्षित गर्नुभयो र जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिन नै संयुक्त राज्य अमेरिकामा गिरोहको कथित गतिविधिहरूको सामना गर्न राष्ट्रिय आपत्काल घोषणा गर्नुभएको थियो ।
बुधबार वासिङ्टनले ट्रेन डे अरागुआका १० जना सदस्यलाई क्युबाको कुख्यात अमेरिकी सञ्चालित ग्वान्टानामो बे जेलमा निर्वासित गरिएको बताएको छ ।