तनहुँ, माघ २३ गते । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो ।
मुग्लिनबाट कोत्रेसम्म सडकको स्तरोन्नति भइरहेकाले सडकको अवस्था र सवारी चालकको लापरबाहीका कारण दैनिक दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालनासम्बन्धी सचेतना जगाउन थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै सचेतनामूलक कार्यक्रमलाई जोड दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गका विभिन्न खण्डमा दुर्घटना बढेपछि न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । तीव्र गतिका कारण दुर्घटना बढेपछि सीमित गतिमा सवारी चलाउन र आवश्यक नियम पालना गर्न सोसम्बन्धी जानकारीसहित आग्रह गरेका छौँ ।”
उहाँका अनुसार ट्राफिक नियम, लेन अनुशासन, सडक सङ्केत तथा ट्राफिक लाइटहरूको सधैँ पालना गरौँ, जथाभावी ओभरटेक नगर्न, मादक पदार्थ तथा अन्य नशाजन्य पदार्थ सेवन नगरी सवारी चलाउन, सवारी चलाउनु अगाडि आफ्नो साधन ठीक छ÷छैन जाँच गर्न, आफूभन्दा अगाडिको सवारीसँग दूरी कायम गर्न, क्षमता भन्दाबढी यात्रु तथा सामानहरू नबोक्न, तोकिएको स्थान ९बस स्टप० मा मात्र यात्रुहरूलाई चढाउन र झार्न आग्रह गरिएको छ ।
सवारी चलाउँदा आफ्नो ध्यान सडकमा मात्र केन्द्रित गर्न, मोबाइल फोनको प्रयोग नगर्न, ठूलो आवाजमा रेडियो क्यासेटहरू नबजाउन, सवारी चलाउँदा तोकिएको गतिभन्दा छिटो नचलाउन आग्रह गरिएको छ ।
साथै मोटरसाइकल चालाउँदा अनिवार्य हेल्मेट प्रयोग गरी फितासमेत बाँध्न आग्रह गरिएको भन्दै उहाँले पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सडकमा पहिलो प्राथमिकता दिन, रातको समयमा साइकल चलाउँदा टल्कने लुगाको प्रयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
मुग्लिन–पोखरा खण्ड विस्तारसँगै सडक फराकिलो बनाउने काम भइरहेको जनाउँदै प्रहरी उपरिक्षक शाहीले तीव्र गतिका कारण अत्यधिक दुर्घटना हुने गरेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । आव २०८०र८१ को सोही अवधिमा भएका दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।
जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अशोक थापाले बताउनुभयो । उहाँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।
सवारी दुर्घटनामा परी आव २०७९र८० मा २९, आव २०७८र७९ मा ४९, आव २०७७र७८ मा ४८, आव २०७६र७७ मा ४४ र आव २०७५र७६ मा ६० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।