धनुषा, माघ २३ गते । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित इण्डो–नेपाल समिट सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना र नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्को समन्वयमा भएको सो समिट कार्यक्रममा नेपाल र भारतका वक्ताले नेपालमा धार्मिक पर्यटन बढाउन स्पष्ट नीति, योजना तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटकको आगमन तथा पर्यटन क्षेत्रको विकास भएमा नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुने, गरिबी तथा बेरोजगारीको न्यूनीकरण हुने र आयआर्जनमा वृद्धि हुनेमा वक्ताहरूले विचार व्यक्त गर्नुभयो । सो  अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल–भारतबीचमा रहेको धार्मिक तथा सांस्कृतिक समानताले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले नेपालमा जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई नेपालका अन्य धार्मिक गन्तव्यसँग जोडेको खण्डमा यसको लाभ अरू ठाउँका पर्यटन क्षेत्रसहित सिङ्गो नेपालले नै पाउने भएकाले यस्ता प्रकारको कार्यक्रमका लागि थप लगानी र प्रचारप्रसार आवश्यक रहेकोे बताउनुभयो । 

नेपालमा रहेको रामायण सर्किटसँगै काठमाडौँ, लुम्बिनी तथा पोखरालाई जोड्न सकेको खण्डमा दुवै देशको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने भएकाले रामायण सर्किटलाई अझ बढी उजागर गर्नका लागि प्रदेश सरकारले दुग्धमती नदीको संरक्षणसहितका योजना अगाडि बढाएको मुख्यमन्त्री सिंहले बताउनुभयो । 

उहाँले नेपालका धार्मिक पर्यटक भारी सङ्ख्यामा भारतको प्रयागराज, अयोध्या, बाबाधाम तथा बनारस जाने गरेका कारणले यसबाट भारतमा अर्बौं रकम नेपालबाट गएर भारतको पर्यटन क्षेत्र विकासमा ठूलो योगदान भएको उल्लेख गर्नुभयो । भारत सरकारको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीचको समान धार्मिक तथा सांस्कृतिक सम्बन्ध भएकाले पर्यटकले दुवै देशको धार्मिक तीर्थस्थलको भ्रमण गर्न चाहेको बताउनुभयो ।

पर्यटकको सहजीकरणका लागि दुवै देशले गम्भीरताका साथ काम गर्न जरुरी रहेको महावाणिज्यदूत मिणाको भनाइ थियो । उहाँले हरेक भारतीय पर्यटकले नेपालको जनकपुरधाम, पशुपति, लुम्बिनी, पोखरासहितको ठाउँको भ्रमण गर्न चाहेको र नेपालका पर्यटक भारतका धार्मिकस्थलको भ्रमण गर्न रुचाउने गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल भारतको पर्यटन प्रवर्द्धनमा रामायण सर्किटको विकासतर्फ दुवै देशका सरकारले साझा रणनीतिका साथ काम गर्नुपर्ने धारणामा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनकुमार साह, पूर्वउपाध्यक्षद्वय डा हरिवंश झा र डा भोगेन्द्र झाले बताउनुभयो ।

उहाँहरूले मधेस प्रदेशलाई भारतको विहार तथा उत्तर प्रदेशका पर्यटकसँग जोड्न सके यस क्षेत्रको विकासमा ठूलो योगदान हुने बताउनुभयो । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्का सचिव अतुलकुमार ठाकुरले दुवै देशको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरेको जानकारी गराउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रामायण सर्किटको विकासका लागि दुवै देशका सरकारले थप पूर्वाधारको निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य निर्मल चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साह, चेम्बर अफ कमर्सका मधेस प्रदेशका अध्यक्ष अभिषेक चौधरी, संस्कृतिविद् रमेश रञ्जन झा, सुनिल मल्लिक तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, शतिष पटुवालले रामायण सर्किटको विषयमा बोल्नुभएको थियो ।