विराटनगर, माघ २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा सरकारले धेरै महत्त्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले विगत वर्षभन्दा यस वर्ष भौतिक र वित्तीय क्षेत्रमा पनि प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकारको प्रशासनिक खर्च कम भएको बताउँदै मुख्यमन्त्री कार्कीले केन्द्रीकृत सोचका कारणले प्रदेश संरचनाले उचाइ प्राप्त गर्न समस्या भइरहेको टिप्पणी गर्नुभयो । उहाँले प्रशासकीय, वित्तीय र राजनीतिक सङ्घीयताले मात्र प्रदेश संरचना बलियो हुने भन्दै सरकारले केही समयपछि प्रदेश राजस्व कार्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको माध्यमबाट प्रदेशमा आर्थिक विकासको जग बसाल्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उहाँले सङ्घीय सरकारले प्रदेशलाई अन्तःशुल्क वा मुख्य अभिवृद्धि करमध्ये कुनै दिएमा प्रदेश आर्थिक रूपले सबल हुने बताउनुभयो ।
मुख्यमन्त्री कार्की जग्गाको प्राप्तिसँगै आगामी आर्थिक वर्षमा प्रदेशका दिगो संरचनाको निर्माण कार्य सुरू हुने बताउँदै प्रदेश सरकारले योजना बैंकमार्फत योजना सङ्कलन गरी योजना छनोट गर्ने र विकासको कार्यलाई अगाडि बढाउने बताउनुभयो ।
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले दक्ष जनशक्ति, अनुभवको अभावमा पनि प्रदेश धेरै कानुन बनेको बताउँदै कानुनजस्तो महत्त्वपूर्ण विषयमा अनुभव, विज्ञता र दक्षजनशक्तिको ठूलो भूमिका रहने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश संरचनालाई संस्थागत विकास एवं सुदृढ गर्न पूर्वसांसदहरूको सुझाव ग्रहण गर्ने र प्रदेशसभाको नियमावलीमै समावेश हुनेगरी पूर्वसांसद मञ्च बनाइनेछ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर छ भन्दै प्रदेशसभालाई बलियो बनाउन सदस्यहरूको भूमिका प्रभावकारी हुनुपर्छ भन्नुभयो । कोशी प्रदेशका पूर्वसभामुख प्रदीपकुमार भण्डारीले व्यवस्थापिकालाई सबैको स्वीकार्य बनाउन हरेक क्षेत्र वा वर्गको सहयोग हुनुपर्छ भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्दबहादुर आङ्बोले प्रदेश सरकारले जनताको चाहना, आकाङ्क्षा र निर्वाचनताका गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक विद्या चाम्लिङ, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पनि प्रदेशसभा स्थापनाको शुभकामना दिनुभएको थियो । प्रारम्भदेखि प्राविधि क्षेत्रमा कार्यरत कर्मचारी वीरेन्द्र चौधरीलाई रू एक हजार एक सय ११ राशिको पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।