जनकपुरधाम, माघ २२ गते । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गर्नुभएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा धनुषाका ५६ हजार दुई सय ८२ किशोरीहरुलाई खोप लगाउन थालिएको सो अभियानअन्तर्गत १० देखि १४ वर्षकी किशोरीहरुलाई खोप दिइने छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार सो खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानमा पाँच सय ४२ खोप केन्द्रमा खोप कार्यकर्ता तथा एक हजार ८४ जना स्वयंसेवक परिचालन गरिएको छ ।
पहिलो चरणमा यही माघ २३ गतेखि २८ गतेसम्म तथा दोस्रो चरणअन्तर्गत आगामी फागुन १ गतेदेखि फागुन छ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार विश्वको एक सय ४७ वटा मुलुकका साथै नेपालमा पनि यो खोप सुुरु भएको बताइएको छ ।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले जनताको स्वास्थ्य एवं सुरक्षाका लागि मधेश प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाउँदै पाठेघरको क्यान्सरबाट सुरक्षित राख्न एचपिभी खोप अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जिल्लामा यो खोप कार्यक्रम सफल बनाउन सबै स्थानीय तहलाई लिखित जानकारी गराएको बताउँदै क्यान्सर रोग नसर्ने भए पनि यसबाट सतर्क रहन आग्रह गर्नुभयो ।