कर्णाली, माघ २२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफँै बदलिन सुझाव दिनुभएको छ । ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफँै बदलिएर देखाउन जटिल हुने बताउनुभयो । उहाँले युवाहरुलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरु लाग्नुपर्दछ ।”

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उहाँले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताउनुभयो । 

आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरुले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।