बेनी, माघ २२ गते । यहाँको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु एक÷एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ ।

त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरि आधारभूत विद्यालयमा रु ५० ÷५० हजार राशिको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषदाता क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैङ्कमार्फत सम्बन्धित विद्यालयको मुद्दति खातामा जम्मा हुनेगरी अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको छ । 

सो अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरुबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । 

ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राहरुको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताउनुभयो । उहाँले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत रु ५० हजारको मुद्दति कोष स्थापना गर्नुभएको थियो ।