काठमाडौँ, माघ २२ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोे छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ भने तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको तथा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।