सुर्खेत, माघ २० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आज उहाँले युवा तथा बालबालिकालाई खेलकुदमा आबद्ध गराउन सके असल नागरिक बनाउने अभियान सफल हुने उल्लेख गर्नुभयो ।
“खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउँछ, हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभइ समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता छ भन्नुभयो ।
सातौँ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।