पथरी, माघ २० गते । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आउनुभएको छ । उहाँले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिनुभएको छ । उहाँले भन्नुभयो “लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।”

लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आउनुभएको छ । वर्षमा दुई याममा उत्पादन हुने लाहा उहाँले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आउनुभएको छ । उहाँको अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाला घिमिरेले बताउनुभयो । कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उहाँले बताउनुभयो ।

लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा रु सात–आठ सयमा बिक्री हँुदै आएको छभने कुसुमी लाहा रु एक हजार प्रतिकेजी बिक्री हुने गरेको छ । विश्वकर्मामा प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आउनुभएको छ । उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्मा बताउनुहुन्छ । लाहाबाट चप्रा निस्किन्छ भने चप्रबाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।

लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताउनुभयो । लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै सुरु गरेको थापा बताउनुहुन्छ । राम्रो आम्दानी र रोजगारी सृजना हुने भएकाले बाँझो खेत राख्नुभन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताउनुहुन्छ ।

तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयरजस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ । लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीराबाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोपबाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थबाट उत्पादन हुने डम्बर विश्वकर्माले बताउनुभयो ।

विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ सालबाट गौरादहमा लाहाको खेतीसँगै चप्रा प्रशोधन गर्दै आउनुभएको छ । चप्रा मागअनुरुप उत्पादन नभएको र भारतबाटै आयात गर्नुपरेको विश्वकर्माले बताउनुभयो । तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ । प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउनुहुन्छ । विश्वकर्माले झापा गौराहदमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेतीसँगै प्रशोधन र खरिदबिक्री गर्दै आउनुभएको छ ।

लाहाबाट प्रशोधन गरेको चप्राबाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ । नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्यबाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।

जिल्ला वन कार्यालय, नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा मोरङको पथरी शनिश्चरेमा ‘लाहाखेती प्रवर्द्घनमा मिडियाको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ । उक्त कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख थापा, पूर्व डिभिजन वन प्रमुख घिमिरे र लाहाखेती गर्दै आउनुभएका विश्वकर्माले लाहाखेतीका बारेमा सहजीकरण गर्नुभएको थियो ।

राज्यले एउटा कार्यक्रम बनाएर यस खेतीका बारेमा प्रचारप्रसार गर्ने र सरकारी तहबाट कार्यक्रम नै बनाएर सामुदायिक वन समितिले यस्तो खेती गरेर उत्पादन गर्न सके करोडौँको आम्दानी राज्यले लिन सक्ने थियो ।