मकवानपुर, माघ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।
प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताका आधारमा काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारको काम सरल र सहज बनाउन ‘जिआई ओएमएस सिस्टम’ जडान भएको उल्लेख गर्दै उहाँले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयन गर्न अघि बढाइएको उहाँको भनाइ थियो ।
“विपद्बाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको कामलाई तीव्रता दिइएको छ,” उहाँले भन्नुभयो, “प्रदेश राजधानी र सङ्घीय राजधानीसहित प्रदेशअन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैङ्क निर्माण गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।”
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताउनुभयो । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश किताबखानालाई सक्रियतापूर्वक कर्मचारीहरुको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले भन्नुभयो ।