इस्लामाबाद, माघ १७ गते । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) सँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएको छ । साथै उहाँले जारी मुद्दाहरूलाई सम्बोधन गर्न संसदीय समिति गठन गर्ने प्रस्ताव गर्नुभएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

सङ्घीय मन्त्रिपरिषद् बैठकमा सरिफले पिटिआईको प्रस्तावपछि समिति गठन गरी सुरु भएको पिटिआईसँगको अघिल्लो वार्तालाई सम्झाउनुभयो ।इमरान खानले स्थापना गरेको पार्टीले राष्ट्रिय सभाको अध्यक्षमार्फत लिखित माग पेस गरेको र सरकारले लिखित जवाफ दिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । तर पिटिआईले २८ जनवरीको निर्धारित बैठक रद्द गर्यो ।

प्रधानमन्त्री सरिफले लिखित मागको लिखित जवाफ दिनु तार्किक भएको बताउनुभयो ।

सन् २०१८ को चुनावपछि विपक्षीहरू कालो पट्टी बाँधेर संसद्मा प्रवेश गरेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले चुनावसँग सम्बन्धित चिन्ताको छानबिन गर्न संसदीय समिति गठन गर्न पहल गरेको उहाँले बताउनुभयो ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार पिटिआईले कहिल्यै न्यायिक आयोग गठन नगरेको तर एउटा समिति गठन गरेको उहाँले बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्रीले सन् २०१८ र २०२४ मा भएको चुनावको अनुसन्धान गर्न र तथ्यहरू बाहिर ल्याउन नयाँ समिति गठन गर्न वार्ता पुनः सुरु गर्न र मिलेर काम गर्न पिटिआईलाई आह्वान गर्नुभयो ।

यसअघि बुधबार पिटिआई अध्यक्ष ब्यारिस्टर गोहर खानले सरकारलाई जानाजानी संवादबाट बच्ने र पार्टीको न्यायिक आयोग गठनको माग बेवास्ता गरेको आरोप लगाउनुभएको थियो ।

बुधबार रावलपिन्डी कछेरी बाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले पिटिआईले औपचारिक रूपमा सरकारलाई उहाँहरूको प्रमुख चिन्ताहरू सम्बोधन गर्न न्यायिक आयोग गठन गर्न अनुरोध गरेको बताउनुभयो । तर सरकारले उहाँहरूको मागको जवाफ दिएन ।

“उनीहरू वार्ता होस् वा समाधान होस् भन्ने चाहँदैनथे”, उहाँले अधिकारीहरूलाई जानाजानी वार्तामा ढिलाइ गरेको आरोप लगाउँदै भन्नुभयो, “हामीले हाम्रा मागहरू प्रस्तुत गर्यौँ तर सरकारले कुनै गम्भीर कदम चालेको छैन । यदि तिनीहरू इमानदार थिए भने, तिनीहरूले समयमै जवाफ दिने थिए ।”

गोहर अली खानले अधिकारीहरूले जनवरी २८ सम्म समिति कक्षमा जवाफ दिने वाचा गरेको बताउनुभयो ।

यद्यपि उहाँले पिटिआईलाई निर्णयको बारेमा अग्रिम विवरण नदिइएको बताउनुभयो । इमरान खानले स्थापना गरेको पार्टीले राजनीतिक दबाबको सामना गरे पनि वार्ता प्रक्रिया सुरु गरेकोमा उहाँले जोड दिनुभयो ।

पाकिस्तान राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकले मङ्गलबार चौथो चरणको वार्ताका लागि पिटिआई र सरकारका प्रतिनिधिहरूलाई आमन्त्रित गर्नुभएको थियो तर पिटिआईका प्रतिनिधिहरू बैठकमा सहभागी भएनन् ।

पछि पाकिस्तान सरकारले आफ्नो वार्ता समितिले जनवरी ३१ सम्म पर्खने भन्दै यदि पिटिआईले वार्ता समाप्त गर्ने आफ्नो निर्णय परिवर्तन गर्यो भने प्रक्रिया पुनः सुरु हुनसक्ने घोषणा गर्यो ।

राजनीतिक तनावलाई सम्बोधन गर्न सरकार र विपक्षीबीच डिसेम्बरमा वार्ता सुरु भएको थियो । एक्सप्रेस ट्रिब्युनका अनुसार त्यसबेलादेखि दुवै पक्ष तीन पटक भेटेका छन् ।