बाजुरा, माघ १७ गते । जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ । तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताउनुभयो । विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उहाँको कथन थियो ।

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गर्नुभयो ।

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासङ्घ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन् ।