तनहुँ, माघ १६ गते । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा आज आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले चुम्नुभएको छ । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार हात पार्नुभएको हो ।

म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उहाँले रु ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बन्नुभएको छ । उहाँले रु ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौँकी विमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । 

म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।