मकवानपुर, माघ १६ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले निस्वार्थ र कर्मशील बनी देश विकासमा अग्रसर हुन आग्रह गर्नुभएको छ । सहिद दिवसको अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद स्मारक हेटौँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सहिदहरूको त्यागलाई सहिद सप्ताह र दिवसमा मात्रै विचार प्रवाह नगरी सत्कर्मको मार्गमा अघि बढेर समृद्धिको ढोका उघार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्वेच्छाचारिता र निरङ्कुशताका विरुद्ध आफ्नो ज्यानको प्रवाह नगरी आवाज उठाउने अनि विद्रोहका कदम चाल्ने ती महान सपूतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभयो । राष्ट्र र जनताका पहरेदार अमर सहिदहरूले पहाडजस्तो भारी मृत्युवरण गरेको परिणाम स्वरूप निरङ्कुशताको गद्दी हल्लिन गई प्रजातन्त्र, लोकतन्त्र हुँदै हाम्रो देश गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेको उहाँको भनाइ थियो ।
“आजभन्दा पहिला कहिल्यै नपाएको मौलिक र मानवअधिकारको उपभोग गर्न पाएका छौँ, यो सबै तिनै महान् निडर सहिदहरूको योगदानको प्रतिफल हो”, उहाँले भन्नुभयो । सहिदहरूको सम्मानमा निर्मित यो स्मारकले हामीलाई इतिहासका क्रूर कालखण्ड र सहिदहरूको बलिदानीको तस्बिरलाई पुनर्ताजगी गराएको उल्लेख गर्दै प्रमुख देवकोटाले वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत ज्ञात अज्ञात महामानवप्रति श्रद्धाभाव प्रकट गर्नुभयो ।
सहिद दिवसको यो अवसरले सबैलाई एकजुट भएर समृद्ध नेपाल निर्माण अभियानमा अघि बढ्न प्रेरणा प्रदान गर्नेसमेत उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख भुवनकुमार पाठक, प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलगायत प्रदेशका मन्त्री, विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियोे ।