भारत, माघ १६ गते । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् ।भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद इतिहास थियो ।
छ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलन विन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो ।
“अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरूको उपचार भइरहेको छ”, मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए ।
उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो ।
प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो ।
दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।
बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो ।
तर यसको सट्टा अधिकारीहरूले तीर्थयात्रीहरूलाई जलमार्गबाट टाढा रहन आग्रह गर्दै लाउडस्पिकर लिएर उत्सव स्थलमा घुमिरहेका थिए ।
“हामी सबै भक्तजनलाई मुख्य स्नान स्थलमा नआउन विनम्र अनुरोध गर्दछौँ”, एक उत्सव कर्मचारीले आफ्नो मेगाफोनबाट आवाजमा भने, “कृपया सुरक्षाकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।”
धेरै तीर्थयात्रीहरूले उत्सवबाट चाँडै बाहिरिने निर्णय गरे । “मैले समाचार सुनेँ र स्नान स्थल देखेँ”, सहभागी सञ्जय निषादले भन्नुभयो, “मेरो परिवार डरायो, त्यसैले हामी जाँदैछौँ ।”
– धेरै मानिस कुल्चिए –
स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले प्रेस ट्रस्ट अफ इन्डिया ९पिटिआई० समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिनुभयो ।
तीर्थयात्री मालती पाण्डेले उहाँ ब्यारिकेड गरिएको पैदल मार्गमा नदीमा नुहाउन जाँदै गर्दा भागदौड सुरु भएको बताउनुभयो । “अचानक भीडले धक्का दिन थाल्यो र धेरै मानिसहरू कुल्चिए”, ४२ वर्षीय पाण्डेले भन्नुभयो ।
कुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ, जसमा अमृत कलश नियन्त्रणका लागि देवता र दानवहरूबीच युद्ध भएको थियो ।
आयोजकहरूले यस वर्षको उत्सवको आकारलाई एक अस्थायी देशसँग तुलना गरेका छन् । फेब्रुअरी २६ को अन्तिम दिनसम्म ४० करोड तीर्थयात्री आउने अनुमान गरिएको छ ।
घातक भीड दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष उत्सवस्थल र फराकिलो शिविरतर्फ जाने सडकहरूमा सयौँ क्यामेरा जडान गरेको छ । ती पोल र ड्रोनहरूमा जडित छन् ।
निगरानी नेटवर्कलाई एक परिष्कृत कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा जोडिएको छ जसले भीडको केही भाग यति सघन भएमा सुरक्षाको खतरा हुनसक्ने सम्बन्धमा कर्मचारीहरूलाई सचेत गराउँछ ।
सन् १९५४ मा कुम्भ मेलाको एकै दिन कुल्चिएर वा डुबेर चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो विश्वव्यापी रूपमा भीड–सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु सङ्ख्या मध्ये एक हो ।
उत्तरी शहर प्रयागराजमा अन्तिम पटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो ।