मोरङ, माघ १४ गते । यहाँको पथरी शनिश्चरे नगरपालिका–२ ले रासन कार्ड र रासन वितरण सुरु गरेको छ । वडाभित्रका २० विपन्न परिवारको पहिचान गरी वडा कार्यालयले रासन कार्डसहित रासन वितरण सुरु गरेको हो ।

समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार बनाउन वडाले प्रयास  गरेको उक्त वडाका वडाध्यक्ष नैना राईले बताउनुभयो । वडाध्यक्ष राईले भन्नुभयो, “जनताले पाउनुपर्ने अति आवश्यक गासँबास र कपासलाई सुनिश्चित गर्न यो वर्षदेखि वडाले वार्षिक बजेट विनियोजन गरी रासन कार्ड र रासन वितरण गरेका हौँ ।” 

कार्डको आधारमा प्रत्येक महिनाको ३ गते वडाबाटै रासन वितरण हुने वडा कार्यालयले जनाएको छ । वडाले अर्को वर्षदेखि बजेट थप गरी थप विपन्न परिवारमा सेवा विस्तार गर्ने योजना बनाएको छ ।     वडाले वडावासीवाट छनौट गरी २० परिवारलाई पहिलो चरणमा १० देखि २० केजीसम्म चामल प्रदान गरेको छ ।  अर्को वर्षवाट भने दाल, चामल र अन्य उपभोग्य सामग्री वितरण गर्ने योजना वडाको छ । 

वडाका कुनै नागरिक भोकै बस्नु नपरोस् भनेर रासन कार्डको व्यवस्था गरिएको वडाअध्यक्ष राईले बताउनुभयो । रासन कार्ड यही माघदेखि लागू गरिएको हो । वडाले यस वर्षका लागि रु एक लाख बजेट विनियोजन गरेको थियो ।