फाइल तस्वीर
सिरहा, माघ १४ गते ।
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो । 

मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल–भारत सहज व्यापारका लागि उपयुक्त नीति कानुनको आवश्यक्ता रहेको बताउनुभयो ।  

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा प्लान्ट क्वारेन्टिनको सुविधा नहुँदा समस्या भएको बताउनुभयो । 

ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास ठप्पभई राजस्व सङ्कलन प्रभावित भएको गुनासो गर्नुभयो । 

ठाडी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा पुस मसन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र सङ्कलन भएको जनाएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् ।