फाइल तस्वीर
दाङ, माघ १४ गते । तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उहाँ सफल किसान बन्नुभएको हो ।

“ पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उहाँले भन्नुभयो ।

उहाँले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गर्नु भएको छ । उहाँ बेमौसमी सागसब्जी लगाउने योजनामा हुनुहुन्छ । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उहाँले बताउनुभयो । उहाँ कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित हुनुहुन्छ । पूर्ववडासदस्य उहाँ हिजोआज राजनीतिबाट अलग हुनुहुन्छ । यद्यपि सामाजिक काममा गाउँलले उहाँलाई नै सम्झन्छन् ।

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताउनुभएको छ । उहाँले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोप्नुभएको छ । उहाँ आफ्ना उत्पादन स्वयं बजार पुर्याउनुहुन्छ र आफै बेच्नुहुन्छ । टमाटर र काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उहाँले राससलाई बताउनुभयो । तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उहाँले आल्हादित हुँदै सुनाउनुभयो । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उहाँ मक्ख हुनुहुन्छ ।

मोटरमा कृषि उपज बजारसम्म लैजाने उहाँमात्र हुनुहुन्न उहाँका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ । रासस