कैलाली, माघ १२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरुक समाज निर्माणमा साहित्यकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उहाँले साहित्यमा समाजका हरेक कुरा प्रतिविम्बित हुने बताउनुभयो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “साहित्यको प्रवद्र्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रुपमा अगाडि बढाउन सकिन्छ । ”प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैङ्गिक विभेद चित्रण गरिएको बताउनुभयो ।
पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताउनुभयो ।