मोरङ, माघ ११ गते । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ । प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०/८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता बस्तीले कार्यालयले प्रदेश कानुन कार्यान्वयन, समुदाय र विद्यार्थीसँग न्यायाधिवक्ता कार्यक्रम सञ्चालन गरी प्रदेश कानुनसम्बन्धी जानकारी गराउँदै आएको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।