कर्णाली, माघ ११ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समग्र प्रदेशको परिचय परिवर्तन गर्न साझा सङ्कल्प र आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
परिवर्तनका लागि युवा संस्थाद्वारा आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को उद्घाटन कार्यक्रममा उहाँले कर्णालीको विकास र समृद्धिका लागि युवाहरूको साथ र सङ्कल्पको जरूरी रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल हुन सक्दैन । यसमा युवाको साथ, सहयोग र सहकार्य आवश्यक छ । विगतका महोत्सवभन्दा यसले प्रदेश सरकारलाई नयाँ योजना निर्माणमा मार्गनिर्देशन गर्ने विश्वास छ । सरकारको कार्यसम्पादनमा युवा भएमा कार्यप्रगति उल्लेख हुँदै जानेछन् ।”
प्रदेश सरकारलाई निश्चित बजेट र स्रोत साधनमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै मुख्यमन्त्री कँडेलले सबै पक्षलाई समेटेर लैजाने प्रयास गरिएकाले यसमा युवाको सकारात्मक साथ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कर्णालीको विकास पहिलो प्राथमिकता परेको भन्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नगर्न सबैलाई आग्रह गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरूलाई आशावादी र सृजनशील भएर उद्यमशील बन्दै जानुपर्ने भन्दै यसमा स्थानीर सरकारको सहयोग सदैव रहने जानकारी दिनुभयो । स्थानीय सरकारले गरेका सकारात्मक पक्षलाई उजागर गर्ने र गल्ती कमजोरीलाई सच्याउन आग्रह गर्दै उहाँले आपसी सहकार्य र समन्वयबाट मुलुक समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष हिमाल विष्टले रोजगारीको अभावमा विदेश पलायन भइरहेका युवाहरूमा आशा जगाउने र उनीहरूलाई देशमा स्वरोजगारका अवसरबारे जानकारी गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
“हामीले राष्ट्रिय युवा परिषद् नेपालसँगको समन्वयमा सबै क्षेत्रका युवा प्रतिनिधित्व हुनेगरी महोत्सवमा सहभागिता गराएका छौँ”, उहाँले भन्नुभयो, “महोत्सव परामर्श र उत्प्रेरणामूलक हुने विश्वास लिएका छौँ ।” उहाँका अनुसार महोत्सव भोलिसम्म सञ्चालन हुनेछ ।