सुदूरपश्चिम, माघ १० गते । धनगढीमा गो ड्रिमर्सको आयोजनामा यही माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समूह ‘बी’ मा सिवाइसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडाँैं र न्यु होराइजन बुटवल रहेका छन् ।

माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन् भने २० गते सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडीले पहिलो खेल खेल्दा दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड कैलाली खेल्नेछन् । माघ २१ गते पहिलो खेलमा फ्रेन्ड्स युवा क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा तथा दोस्रो खेलमा सिवाइसी अत्तरिया र क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ खेल्नेछन् । 

माघ २२ गते दशरथ चन्द एकेडेमी बैतडी र न्यु होराइजन बुटबल पहिलो तथा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् भने २३ गतेको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमाघोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा खेल्नेछन् । 

माघ २४ गतेको पहिलो खेल क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ र दशरथ चन्द एकेडेमी बैतडीबीच हुनेछ भने दोस्रो खेलमा घोडाघोडी–११ सुख्खड कैलाली र फ्रेन्ड्स युवा क्लब डडेल्धुरा खेल्नेछन् । माघ २५ गते लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरिया र न्यु होराइजन बुटवलले प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै माघ २६ गते पहिलो सेमिफाइनल, माघ २७ गते दोस्रो सेमिफाइनल र माघ २८ गते फाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता र समूह बी को उपविजेताबीच फाइनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ‘ए’ को उपविजेता फाइनलको यात्रा तय गर्नका लागि खेल्नेछन् । 

स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै रु २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले पाँच लाखसहित ट्रफी पाउनेछन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रु ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका आठ क्लबका टोलीको सहभागिता रहेको छ ।