सुदूरपश्चिम, माघ १० गते । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाही छलफलमा सहभागी हुनुभएको थियो । समाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई कुलपति र उपकुलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीलाई प्रदेश प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले ‘सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ लाई स्वीकृत गरियोस्’ भनी पेस गर्नुभएको प्रस्तावलाई आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।