महोत्तरी, माघ १० गते । बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्नुहुन्छ । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो । बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्र गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो ।

बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्र गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।

नगरभित्रका सडकहरु वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताउनुभयो ।

नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ ।

भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाई भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

 उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज भएको बताउनुभयो । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।