दाङ, माघ ८ गते । दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२:३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गर्नुभएको हो ।

गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उहाँले बताउनुभयो । अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजिकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्साल बताउनुहुन्छ ।

“हरेक दिन हेल्प डेस्कमा बस्छु”, उहाँले भन्नुभयो । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भइ सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्सालले बताउनुभयो । अन्य कार्यालयको सहयोग लिएर सहजिकरण गर्ने काम समेत गर्दै आएको उहाँको भनाइ छ । प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रुपमा आफ्नो कुरा राख्न पाएका छन् । 

लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुशी लागेको  बताउनुहुन्छ । छयहत्तर वर्षीया जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन जानुभएको थियो । 

“छोराको तीन वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहारबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु”, हेल्प डेस्कमा उहाँले समस्या प्रजिअलाई सुनाउँदै हुनुहुन्थ्यो ।

जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै हुनुहुन्थ्यो । आफनो समस्या समाधान हुनेमा उहाँ आशावादी हुनुहुन्थ्यो ।

जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिनुभएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताउनुभयो । हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रुपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा  नागरिकलाई सहज भएको उहाँको भनाइ थियो । यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुने उहाँको भनाइ थियो ।