विराटनगर, माघ ८ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक विचार गरियोस् भनी सभामा पेस गर्नु भएको थियो ।

उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामका तर्फबाट मन्त्री भण्डारीले ‘प्रदेश जीव नाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस गर्नुभयो ।

उहाँले संविधानमा साझा अधिकारभित्र परेको यो ऐनमार्फत विषादीको प्रयोग, आयात, वितरण र भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्न ऐन आवश्यक भएको बताउनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य रमेशकुमार वस्नेत र किशोरचन्द्र दुलालले प्रस्तुत ऐन मुख्य न्यायाधिवक्ताको सेवा र सुविधा बढाउन मात्र नभई असल शासन र कुशल प्रशासनका लागि उचित छ भत्रुभयो ।

विशेष समय
विशेष समयमा नेपाली कांग्रेसका विनोद राईले बिजुली उत्पादनको नाममा गाउँबस्ती विस्थापित हुनुहँुदैन भत्रुभयो ।उहाँले किसानलाई मल र बीउको व्यवस्था गर्न माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्साङले गत असोजको बाढीबाट प्रभावित भएकालाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय
शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य भीम पराजुली, मैया श्रेष्ठ, तीलचन पाठक, प्रदीपकुमार सुनुवार, रामदेव यादव, कमलप्रसाद जवेगु, सविना बजगाँई, गोविन्द गिरी र शोभा चेम्जोङले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न २:०० बजे बस्नेछ ।