काबुल, माघ ८ गते । तालिबान सरकारले मङ्गलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ । “अमेरिकामा बन्दी बनाइएका अफगान लडाकू खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ”, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।
एएफपीले सोधेको प्रश्नमा विदेश मन्त्रालयले थप विवरण वा अमेरिकी कैदीहरूको सङ्ख्या खुलाउन अस्वीकार गरेको छ ।
यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको भोलिपल्ट आएको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तालिबानसँग सम्झौता गर्नुभएको थियो र उक्त सम्झौताले सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र तालिबानको सत्तामा पुनर्वहाली हुने मार्ग प्रशस्त गरेको थियो ।
नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि तालिबान सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को आशा गरेको बताएको थियो ।
तालिवान सरकारले मङ्गलबार यो आदानप्रदानलाई ‘वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने राम्रो उदाहरण’ भन्दै यस सन्दर्भमा भ्रातृ देश कतारको प्रभावकारी भूमिकाका लागि विशेष कृतज्ञता व्यक्त गरेको छ ।
“अफगानिस्तान संयुक्त राज्य अमेरिकाका ती कार्यहरूलाई सकारात्मक रूपमा हेर्छ जसले दुई देशबीचको सम्बन्धको सामान्यीकरण र विस्तारमा योगदान पु¥याउँछ”, मन्त्रालयले भन्यो ।