कैलाली, माघ ७ गते । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा कोशीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको कोशी ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई दुई विकेट लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो । उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्त टिका शाहले २१ रन बनाइन् ।
बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।