कोलम्बो, माघ ७ गते । भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट आज सोमबार बिहानसम्म करिब १७ हजार श्रीलङ्काली प्रभावित भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ । एघार जिल्लाका १६ हजार ९३० जना प्रभावित भएको डीएमसीले जनाएको छ । एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
यसैबीच सोमबार उत्तरी, पूर्वी, उत्तर–मध्य, उवा र मध्य प्रान्त र हम्बनटोटा जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेको थियो । उक्त चेतावनी आगामी २४ घण्टासम्म जारी रहने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।