काठमाडौँ, माघ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जिल्ला अदालतमा सोसम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिनुभयो । यससहित रविविरुद्ध अदालतमा तेस्रो मुद्दा परेको हो।

यसअघि विभिन्न सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा र काठमाडौंमा मुद्दा दायर भए पनि उहाँ धरौटीमा छुट्नुभएको छ। लामिछाने काठमाडौं अदालतबाट ६० लाख र पोखरा अदालतबाट ६५ लाख धरौटीमा छुटेर बाहिरै बसेर मुद्दा लाडिरहनुभएको छ। यसै क्रममा आइतबार फेरि लामिछानेविरुद्ध रूपन्देहीमा अर्को मुद्दा दायर भएको हो। उहाँविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो।

संगठित रूपमा ठगीको कसुरको सो मुद्दामा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपियाँभन्दा बढी रकम अपचलन भएको प्रहरीको निष्कर्ष छ। प्रहरीका अनुसार सोमध्ये १४ करोड रुपियाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको सूचना अधिकारी मरासिनीले बताउनुभयो । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । तर, उनीहरूमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत लगिएको छ।

यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरक अभियोगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको बताइएको छ। अदालतका अनुसारअनुसार जीबी राईलाई ५१ करोड १ लाख र लामिछानेसहितलाई १० करोड १९ लाख ३६ हजार बिगो राखिएको छ।

पूरक अभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपियाँ बिगो कायम गरिएको थियो। प्रतिवादी थप भएसँगै बिगो पनि झन्डै डेढ अर्ब पुगेको हो । मुद्दा दर्ता भएसँगै अब लामिछाने रूपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपियाँको बिगो माग दाबी गरिएको छ। (आजको नेपाल समाचारपत्र दैनिकबाट)