फाइल तस्वीर
काठमाडौँ, माघ ५ गते ।
विश्वकप महिला यू–१९ टी २० को पहिलो खेलमा नेपाल बङ्गलादेशसामु निरिह भएको छ । खराब व्याटिङ सुरु गरेको नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५२ रनमै अलआउट भएर लज्जास्पद हार व्यहोर्न पुगेको छ ।

आज शनिबारबाट मलेसियामा सुरुभएको खेलमा नेपाल ५२ रनमै समेटिन पुगेको छ । कुल १८ दशमलव २ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरुमध्ये साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अङ्कमा रन बनाउन नसक्दा नेपालले सुखद् नतिजा प्राप्त गर्न सकेन ।

नेपालका आधा खेलाडी ३० रन जोड्दा पेभिलियन फर्किसकेका थिए । ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ रन मात्रै बनाउँदा साना प्रविनले १९ रन र सीमाना केसीले १० रन बनाए । त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, रचना चौधरी ३ र रिया शर्माले ५ रन मात्रै बनाउन सके नेपालमा ६ खेलाडी रनआउटको शिकार हुँदै बाहिरिन पुगेका थिए ।

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन् । सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नै पर्दछ । आज भएको पहिलो आफ्नो खेलमा पराजय भोगको नेपालले माघ ७ गते स्कटल्याण्ड र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।