फाइल तस्वीर
काठमाडौँ, माघ ५ गते ।
नेपाली महिला टिमले ऐतिहासिक विश्वकप क्रिकेट खेल्दै छ । नेपाली महिला यू–१९ क्रिकेट टिमले आज शनिबार मलेसियाको मैदानमा बङ्गलादेशविरुद्ध खेल्न लागेको हो ।

यू–१९ नेपाली महिला टिमले आज पहिलो पटक विश्वकप खेल्दै छ । दिउँसो १२ बाट सुरु हुने विश्वकप क्रिकेटमा पाइला टेकेको यू–१९ टिमले नयाँ इतिहास बनाउन बङ्गलादेशलाई हराउन चाहन्छ ।

नेपाली महिला यू–१९ क्रिकेट टिमले गत कात्तिकमा युएईमा भएको एसिया छनोट पार गर्दै विश्वकप खेल्ने ढोका खोल्दै इतिहास रचेको थियो । विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । नेपाल आज बङ्गलादेशविरुद्ध सोही लयमा खेल्दै पहिलो जितको खोजिमा मैदानमा उत्रँदैछ ।

यस विश्वकप प्रतियोगितको समूह ‘डी’ मा रहेको नेपालले बङ्लादेश, अस्ट्रेलिया र स्कटल्याण्डको सामना गर्ने छ । यी सबै देशका टिमहरु समूह ‘डी’ मा छन् ।

यस विश्वकपमा सहभागी १६ टोलीलाई ‘ए’ देखि ‘डी’ सम्म गरी चार समूहमा विभाजन गरिएको छ । यसरी विभाजन गरिएको प्रत्येक समूहबाट समान तीन÷तीन टोली सुपर ६ मा पुग्नेछन् । सुपर ६ मा दुई समूह हुनेछन् । विश्वकपको सुपर–६ मा पुग्न नेपालले कम्तिमा पनि एउटा टिमलाई हराउनै गर्ने हुन्छ । खेल तालिका अनुसार नेपालले माघ ७ गते सोमबार स्कटल्याण्ड र माघ ९ गते बुधबार अस्ट्रेलियाको सामना गर्नेछ । सुपर–६ मा पुग्न सफल शीर्ष दुई÷दुई टिम सेमिफाइनलमा पुग्नेछन् । विजेता दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

पूजा महतोको कप्तानीमा नेपाली महिला यू–१९ क्रिकेट टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा सहभागी खेलाडीहरुमध्ये सोनी पाख्रिनलाई उपकप्तानको जिम्मेवारी दिएको छ । अन्य खेलाडीमा सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, तिर्सना विक, किरण कुँवर, अलिशाकुमारी यादव, सावित्री धामी, सीमाना केसी, स्नेहा महरा, रिया शर्मा, कृश्मा गुरुङ, रचना चौधरी र अनु कडायत रहेका छन् ।