हुम्ला, माघ ४ गते । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताउनुभयो । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रुपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो । 

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताउनुभयो । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।