सुदूरपश्चिम, माघ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी आज अनावरण गर्नुभएको छ । मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई समग्र क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ ।”

धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । ट्रफी अनावरणकै क्रममा धनगढी क्रिकेट एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यसवर्षदेखि नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक ‘क्यालेण्डर’ मा समावेश गरेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका आयोजक ‘गो ड्रिमर्स’ का अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका लागि फाप्ला क्रिकेट मैदानमा प्यारापिटसमेत निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान आफ दि म्याच’ लाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । लिगकम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहनेछ ।