काठमाडौँ, माघ ३ गते । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेख्नुभएका उहाँ २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ का कारण लोकप्रिय हुनुहुन्थ्यो ।

प्रकाशित शब्दभेदी लडाई, उहाँका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उहाँका कृति सूक्ष्म रूपमा अध्ययन गर्नुभएका डा रमेशचन्द्र न्यौपानेले बताउनुभयो ।

तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उहाँले लेख्नुभएका सम्झनुहुन्छ डा न्यौपाने । चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उहाँले निर्भीक पत्रकारिता गर्नुभएको र उहाँका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहनुभएको डा न्यौपानेले बताउनुभयो ।

पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँका छ जना छोरी हुनुहुन्छ ।