लुम्बिनी, पुस २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । मुस्लिम आयोगले आज लमहीमा आयोजना गरेको ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम’ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तीकरण र जागरणका लागि समुदायले चलाउने अभियानलाई प्रदेश सरकारले साथ दिने बताउनुभएको हो ।

“मुस्लिम समुदायका केही बालबालिका अझै शिक्षाबाट वञ्चित छन् । प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरुलाई पूर्ण छात्रवृत्ति दिएको छ । तर, यो छात्रवृत्ति लिने किशोरीको सङ्ख्या थोरै छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “समुदायका अगुवाहरु नै समाज परिवर्तन र जागरणमा अघि सर्न जरुरी छ ।” 

प्रदेश सरकारले निजामती क्षेत्रमा मुस्लिम समुदायको सात प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उहाँले बताउनुभयो । उहाँले मदरसा शिक्षा समयानुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

मुस्लिम समुदायमा उमेर नपुग्दै छोरीहरुको विवाह गर्ने संस्कार अन्त्य जरुरी रहेको बताउँदै बालविवाहकै कारण मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण बढेको बताउनुभयो । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समुदायको सशक्तीकरणका लागि तीन तहकै सरकारले विशेष प्याकेज निर्माण गरेर लागू गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, तथा रोजगारीमा राज्यले प्रदान गर्ने सबै अवसर सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो ।