बेइजिङ, पुस २३ गते । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६।८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।

साथै, उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ । हालसम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। भने १ सय ३० जना घाइते भएको भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ । मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।