फाइल तस्वीर
काठमाडौँ, पुस २३ गते ।
एक सातामा दुई वटा जलविद्युत् आयोजनाले वित्तीय स्रोत जुटाएका छन् । बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजनामा २६ अर्ब रुपैयाँ बराबरको ऋृण लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै ।

केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय संस्थाले नौ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहनुभएमा प्रवद्र्धक मोहनकुमार डाँगीले जानकारी दिनुभयो । यस आयोजनामा ७४ करोड रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने एक अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी सञ्चालक एवं प्रवद्र्धकले गर्नेछन् । 

साथै लमजुङमा आयोजनास्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको सो आयोजनामा विभिन्न बैंकले १६ अर्ब रुपैयाँ बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

प्रवद्र्धक कम्पनीले उपलब्ध गराएको विवरण अनुसार लक्ष्मी सनराइज बैंकले सात अर्ब रुयैयाँ, ग्लोबल आइएमइ बैंकले छ अर्ब रुपैयाँ र प्रभु बैंकले तीन अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएका हुन् । सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवद्र्धकले लगानी गर्नेछन् ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्रसमेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।

इपानका अध्यक्ष गणेश कार्कीका अनुसार अन्य आयोजनामा पनि क्रमशः वित्तीय व्यवस्थापन हुनेक्रम अगाडि बढेको छ । उहाँले छोटो अवधिमा २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको र केही प्रक्रियामा रहेको जानकारी दिनुभयो ।