काठमाडौँ, पुस २२ गते । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीको आठौं केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा माओवादी केन्द्रको कटाक्ष गरिएको छ। आइतबारबाट शुरू भएको बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादीलाई बेइमानीको पुलिन्दा बनाएर पूर्वप्रधानमन्त्री प्रचण्डप्रति गहिरो टिप्पणी गरिएको हो।
‘प्रचण्डकै कारण नयाँ सत्ता समीकरणको बाध्यता’ भएको प्रतिवेदनमार्फत दाबी गर्नुभएका ओलीले आफूलाई इमानदारिताको नायक ठान्ने प्रयास गर्नुभएको छ। राजनीतिक जोड घटाउ र सत्ता प्राप्तिका लागि अधिकांश दलको प्रवृतिमा खासै फरक नदेखिए पनि एकले अर्कोलाई लगाउने आरोपको नालीबेलीले संसारकै इमानदार आफूमात्रै रहेको झल्को दिने देखिन्छ।
यही वरिपरि रहेर एमाले अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा लेख्नुभएको छ–‘प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै ‘प्रचण्ड’बाट आफ्नो पुरानै चरित्र प्रदर्शन हुन थाल्यो । राष्ट्रपतिको निर्वाचनको बिन्दुमा आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसी रहन सक्ने स्थितिमा रहेनौं ।’
ओलीले राजनीतिक प्रतिवेदनमार्फत विभिन्न दलबारे संस्थागत धारणा राख्दै गर्दा सत्ता साझेदार नेपाली कांग्रेससँग नरम देखिनुभएको छ भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग सबैभन्दा आक्रामक देखिनुभएको छ। त्यसै गरी राजावादीबारे पनि उहाँले कडा टिप्पणीसहित देशमा अराजकता मच्चाउन खोजिरहेको आरोप लगाउनुभएको छ। उक्त प्रतिवेदन ४७ पृष्ठ लामो छ।
पछिल्लो समय पूर्वराजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय भएको उहाँले आरोप लगाउनुभएको छ। उहाँको प्रतिवेदनमा भनिएको छ– ‘२४० वर्षे शाहवंशीय शासनकाल अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यति बेला उनीहरू १६ वर्ष अगाडिमात्रै स्थापित नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्यत देखिन्छन्।’
असार ३० गते प्रधानमन्त्री बनाउन सहकार्य गरेको सत्तारुढ कांग्रेसप्रति नरम नीति अवलम्बन गर्दै राष्ट्रिय शक्तिहरू निर्णायक अवस्थामा एक ठाउँमा हुनुपर्ने समयको खाँचो रहेको ओलीको धारणा छ। ‘जनमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं । यद्यपि, यसअघि नै हामीले कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौँ भन्ने प्रस्ताव राखिसकेका थियौँ’–उहाँको प्रतिवेदनमा भनिएको छ ।
राजावादीसँग प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्ड र उनी नेतृत्वको दलले उठबस गरिरहेको प्रधानमन्त्री ओलीको ठहर छ। ‘तत्कालीन प्रधानमन्त्री स्वयम् सामाजिक सद्भावलाई बिथोल्न र अतिवादलाई बढावा दिन थालेका तथ्यहरू प्रकट हुन थालेका छन्’, उहाँले प्रतिवेदनमा भन्न्ुभएको छ– ‘परिवर्तनविरोधी शक्तिहरू खुलेआम संविधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको विरोधमा उत्रिने र दिनै तोकेर ‘राजा फर्काउने’ अभिव्यक्ति दिन थाले।’
एमालेले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिने इच्छा हुँदाहुँदै पनि प्रधानमन्त्रीकै कारण बस्ने वातावरण बिग्रिएको उहाँले जिकिर गर्नुभएको छ। ओलीले सत्ता साझेदार नेपाली कांग्रेसलाई मुलुकको लोकतान्त्रिक आन्दोलनको अगुवा भन्नुभएको छ।
‘एमाले र कांग्रेस मुलुकका मुख्य प्रतिस्पर्धी शक्ति हुन् भन्ने राजनीतिक यथार्थ हो । तर, हामी मुख्य प्रतिस्पर्धीमात्रै होइनौँ, लोकतान्त्रिक आन्दोलनका अगुवा, लोकतन्त्रका संस्थापक र मुख्य ‘स्टेकहोल्डर’ पनि हौँ’, ओलीले भन्नुभएको– ‘राणाशासन फ्याँकेर मुलुकमा प्रजातन्त्र ल्याउन जन्मेका दुई पार्टीबीच २०४६ को जनआन्दोलनमा या २०६२–६३ को जनक्रान्ति र तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन या संविधान जारी गर्दा होस्, सहकार्य हुँदै आएको छ। यी विषयमा दुवै पार्टीले निर्णायक भूमिका खेलेका छन्।’
ओलीले ०८१ असार १७ गते राति काङ्ग्रेस र एमालेबीचको सातबुँदे सहमतिबारे पनि माओवादी र राजावादीले भ्रम फैलाएको आरोप लगाउनुभएको छ। (आजको नेपाल समाचारपत्र दैनिकबाट)