भोजपुर, पुस १९ गते । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरूरी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव र एकता कायम राख्दै मुलुकलाई अगाडि बढाउन स्थानीय तहहरूको पनि प्रमुख भूमिका हुने बताउनुभयो । उहाँले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रको सुदृढीकरणसहित संस्थागत बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
भाषा, धर्म, संस्कार, संस्कृतिमा सबैको समान अवसर कायम राख्दै एकताबद्ध रूपमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उहाँको धारणा छ ।
सो क्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय अभाव हुँदा योजनाहरू दोहोरिने समस्या देखिएको बताउनुभयो ।
पूर्वसंविधानसभा सदस्य लक्ष्मी परियार, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, भोजपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, समन्वय समितिका पदाधिकारी, कर्मचारी, पत्रकारलगायतको जिल्ला सभामा सहभागिता रहेको थियो ।