काठमाडौँ, पुस १९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ संस्मरणात्मक कृतिको आज विमोचन गर्दै उहाँले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरणमार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, सङ्गठन सुदृढीकरण र वैचारिक धार प्रवल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गरिबी र पतीवियोगमा रहनुभएकी आफ्नी आमाको प्रेरणाबाट पोखरेल राजनीति क्षेत्रमा अहिलेको अवस्थामा आइपुग्नुभएको हो । उहाँकी आमाले त्यसबेला पनि छोरा ईश्वरको अन्तरजातीय विवाहलाई सहजै स्वीकार्नुभयो । उहाँमा मुखले बोलेर कसैलाई चित्त दुखाउन हुन्न भन्ने भावना थियो ।”

नेकपा ९एमाले०का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अभ्यासमा रहेको राजनीति र लोकतन्त्र सित्तैमा आएको होइन, नेपाली समाज वर्तमान अवस्थामा आइपुग्न धेरै आमाहरू र ईश्वर पोखरेलजस्ता योद्धाको ठूलो सङ्घर्ष र बलिदानपूर्ण सङ्घर्ष छ । उहाँहरू सर्वकालीन र सार्वभौम हुनुहुन्छ ।”

समालोचक उपप्राध्यापक डा विन्दु शर्माले शब्द चयनमा समेत निकै सजगता र सचेतना अपनाई नेपाली आमाहरूको त्याग, समर्पण र बलिदानीबारे इमान्दारीपूर्ण संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको कृतिमा भावुक पार्ने क्षण र विषयवस्तु प्रशस्त रहेको धारणा राख्नुभयो ।

कृतिका लेखक एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नी आमालाई परिवर्तन र रुपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोसिस गरेको बताउनुभयो । कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् । 

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।