सियोल, पुस १४ गते । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको आशंका गरिएको छ । विमानमा सवार १ सय ८१ जनामध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रु गरी दुईजनाको जीवितै उद्धार गरिएको थियो ।


दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । अधिकारीहरुका अनुसार उद्धार गरिएका २ जनाबाहेक अरू सबैको मृत्यु भएको आशंका गरिएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको हो।

बैंककबाट फर्किएको जेजु एयरको उडान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन ।