फाइल तस्वीर
काठमाडौँ, पुस १३ गते । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान छ ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको छ भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ । साथै अहिले बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
हुस्सु र कुहिरोको कारण बढ्ने चिसोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।